(१) कुनै थुनुवा वा कैदीको मृत्यु भएमा सरकारी चिकित्सकलाई जचाई निजले सो कुरा प्रमाणित गरेमा सो बेहोराको र मर्नेको जायजातको तायदाती मुचुल्का लेखी सो बखत पालो पहरामा परेको पाले सिपाही र थुनुवा कैदीहरूमा पाएसम्म चार जनामा नघटाई सो मुचुल्कामा साक्षी गराई मर्ने थुनुवा वा कैदीको जायजात धरौटी स्याहामा आम्दानी बाँधी जुन अड्डामा वा अदालत मार्फत थुनिए वा कैद भएको हो सो अड्डा वा अदालतलाई र सो मर्ने थुनुवा वा कैदीको हकवालालाई समेत जेलरले तोकिएबमोजिम सो कुराको जनाउ दिनुपर्छ ।
(२) उपदफा (१) बमोजिमको जनाउ तामेल भएको मितिले बाटाका म्याद बाहेक पैंतीस दिन भित्र हकवालाले सो मर्ने थुनुवा वा कैदीको जायजात लिन आएमा तोकिएको रीत पुरायाई निजलाई सो जायजात दिनुपर्छ । सो म्याद भित्र कुनै हकवाला नआएमा सो जायजात लिलाम बिक्री गरी आएको नगद स्याहामा आम्दानी बाँधी सरकारी कोषमा दाखिल गर्नुपर्छ ।
(३) मरेको कुनै थुनुवा वा कैदीलाई निजको वारिसले उठाई लैजान चाहेमा अन्यथा गर्न आवश्यक भएमा बाहेक सो वारिसको जिम्मा लगाई दिनु पर्छ । सो बमोजिम वारिसले उठाई नलगेमा वा कुनै वारिस नै नभएकोमा तोकिएबमोजिम कारवाई गर्नुपर्छ ।